बझाङ, ७ चैत । नेपाल टेलिकमले बजारमा ल्याएको नमस्ते मोवाइलका १ सय र २ सय दरका रिर्चाज कार्ड बिक्रीमा प्रभावकारी अनुगमन नहुदा बझाङमा स्थानीय बिक्रेताहरुले मनपरि मूल्य लिने गरेका छन् । सदरमुकाम चैनपुरमा रहेका बिभिन्न रिचार्ज कार्ड बिक्रेताहरुले १ सय दरको रिचार्ज किन्दा १ सय ५ देखि १ सय १० रुपैयाँसम्म लिने गरेको मोवाइल प्रयोगकर्ताहरुको गुनासो गरे । विक्रेताहरुले टेलिकमले निर्धारण गरेको मूल्यमा आफुलाई फाइदा नभएको भन्दै ५ रुपैया देखि १० रुपैयाँसम्म अतिरिक्त रकम लिने गरेका हुन् ।
'टेलिकमले रिचार्ज कार्ड बिक्री सम्बन्धि पत्रिकामा निकालेको सुचना देखाउँदा पनि निर्धारित दरमा दिन सकिदैन् भन्छन् व्यापारीहरु त्यसैले ५ रुपैया थप दिन बाध्य भए' स्थानीय सञ्चारकर्मी नरेश खड्काले भन्नुभयो 'पूरानो स्टक रहेको रिचार्ज कार्ड भएपनि एउटा कुरा थियो । तर हालसालै बजारमा आएको रिचार्ज कार्ड पनि पूरानै मूल्यमा बेचेर व्यापारीहरुले खुलमखुल्ला कालोबजारी गरिरहेका छन् ।'
जिल्लामा रिचार्ज कार्ड उपल्बध गराउने जिम्मा लिएको टेलिकमको अधिकृत विक्रेता बझाङ हार्डवयर एण्ड सप्लायर्सका सञ्चालक ओमजङ्कबहादुर सिंहले टेलिकमको नयाँ दररेट तथा सुचनाबारे आफूलाई आधिकारीक जानकारी नआएको बताउँनुभयो । सिंहले भन्नुभयो- 'सम्बन्धित निकायबाट खबर आएपछि मात्र उसले भनेको दररेटमा रिचार्ज कार्ड उपलब्ध गराउँन सकिन्छ ।'
दैनिक सयौं उपभोक्ताहरुले आफू ठगिएको टेलिकम, स्थानीय प्रशासन लगायतका निकायमा जानकारी गराउँदा पनि उनीहरुले केही पहल नचालेको मोवाइल प्रयोगकर्ताहरुले आरोप लगाएका छन् । क्षेत्रिय कार्यालयबाट रिचार्ज कार्ड बिक्रीका लागि जिल्लामा एजेन्ट छनौट गर्छ । त्यस बारेमा आफूलाई केही थाहा नभएको र थाहा भएपनि केही गर्न नसकिने टेलिकम बझाङका प्रमुख चन्द्रनाथ जोशीले बताउँनुभयो ।





