महेन्द्रनगर, १ चैत्र । वर्तमान सरकार विकल्प खोज्नका लागी समिकरण बन्न लागिरहेको भन्ने सञ्चारमाध्यममा आएको खबर हल्ला मात्रै भएको सरकारका एक मन्त्रीले बताउनुभएको छ । नेकपा संयुक्त कञ्चनपुरले आज गरेको पत्रकार सम्मेलनमा वातावरण मन्त्री ठाकुर शर्माले माधवकुमार नेपाल नेतृत्वको सरकारको विकल्प शुरु भइसकेको भनि आएको हल्ला गलत भएको बताउनुभएको हो ।
उहाँले सरकार निर्माणका लागी र्समर्थन दिएका कुनैपनि दलहरुले आफ्नो र्समर्थन फिर्ता नलिएको अबस्थामा वाहिर गलत प्रचारवाजी गरेर सरकारलाई कमजोर पार्ने काम माओवादीले गरिरहेको आरोप लगाउनुभयो ।
सरकारका काम कारवाही कहि कतै केहि गलत भएपनि संविधान जारी भई चुनाव नहुन्जेलसम्मका लागी माधव नेपाल नेतृत्वको सरकारको कुनै विकल्प नभएको बताउनुभयो ।
माओवादीले सरकार परिवर्तनको हल्ला चलाउनु भन्दा यही सरकारमा सामिल भएर समयमै संविधान निर्माण, शान्ति प्रक्रिया र सेना समायोजनका लागी सहयोग पुर्याउनु पर्ने मन्त्री शर्माको भनाई छ ।
नेकपा संयुक्तका सचिवालय सदस्य समेत रहनुभएका मन्त्री शर्माले पार्टीले माओवादी नेतृत्वको सरकारलाई पनि र्समर्थन गरेकै भएपनि सेनाको विषयलाई लिएर माओवादी आफैले सरकार त्याग्नु उसको आफ्नै कमजोरी भएको बताउँदै शिर्षनेताहरुकै मुखवाट असभ्य कुराहरु आउनु गलत भएको बताउनुभयो ।
उहाँले सरकार परिवर्तन अहिलेको आवश्यकता नभई संविधान निर्माण, शान्ति प्रक्रिया र सेना समायोजन प्रमुख आवश्यकता भएको बताउँदै जेठ १४ मा संविधान जारी हुन नसके राजनीतिक दलहरुकै अस्तित्व संकटमा पर्ने चेतावनी दिनुभयो ।
पत्रकार सम्मेलनमा मन्त्री शर्माले आफ्नो मन्त्रालयले वातावरणका क्षेत्रमा गरिरहेको काम कारवाही र भावी कार्ययोजनाका बारेमा समेत जानकारी दिनुभएको थियो ।





