महेन्द्रनगर, २८ फागुन । बर्षौ देखि भोगचलन गर्दै आएको जग्गाको नाप नक्सा हुन नसकेपछि कञ्चनपुरको दैजि गाविसका बगुन गाउवासीले पीडा व्यहोर्दै आएका छन् । वर्षौ देखी भोगचलन गर्दै आएको जमिनको जग्गा धनी पुर्जा नपाउ समस्या झेल्दै आएका छन । कन्चनपुरको सदरमुकाम महेन्द्रनगरबाट २० किलोमिटर टाढा चुरेफेदीमा रहेको बगुन गाउँमा २०२४ साल देखि नै वनक्षेत्र आसपासको जग्गा ओगटेर बसोवास शुरु भएको हो ।
बसोवास संगै विकासका पुवाधारहरुको निर्माण हुदै गएपनि पुरै बस्तीमा हालसम्म नापी नहुदा त्यस क्षेत्रका बासिन्दा उठीवास हुने होकि भन्ने चिन्ताले पिरोलिएका छन् । लामो समयदेखी बस्दै आएका स्थानीयबासी देब चन्दले कञ्चनपुरका बिभिन्न क्षेत्रमा पटक पटक नापी गरि जग्गाधनी प्रमाणपुर्जा दिने काम भएपनि चार दशक अघि देखि बसोवास गर्दै आएका बगुनबासीका लागि भने गाउँको नापी नहुनु नै मुख्य समस्या बनेको बताउनुभयो । जग्गा नापी नहुदा बगुनवासीले सामान्य धान गहु कुटानी पिसानी गर्नु मिल समेत सञ्चालन गर्न पाएका छैनन् । स्थानीयबासिन्दा अशोक चन्दले विगतमा दुइपटक टोली यस क्षेत्रमा आएर गएपनि त्यसपछि कुनै क्षेत्रबाट सुनुवाई नै नभएको बताउनुहुन्छ । जिल्ला नापी कार्यालयले भने सुकुम्बासी समस्या समाधान आयोगले सिफारिस गरेमा मात्र आफूले लालपूपर्जा वितरण गर्न सक्ने जनाएको छ । नापी कार्यालय कञ्चनपुरका प्रमुख सुदर्शनसिंह धामीले स्थानीयवासीहरुले माग राखेर सम्बन्धीत निकायमा दवाव दिए केहि हुन सक्ने बताउनुभयो । उहाँले आफूहरुलाई नापीका लागी निर्देशन आए मात्रै नापी गर्न सकिने प्रष्ट पार्नुभयो । एकातिर जग्गा धनी पुर्जा नपाउदाको पिडा छ, भने अर्कोतिर गाउ नजिकैको बगुन नदि र साजघाट खोलामा आउने बाढीले बर्षोनी जग्गा कटान गरि बिस्तापित हुदा समेत आफुहरु बाढीपिडितको लगतमा नपर्ने गरेको उनीहरुले गुनासो गरेका छन । गाउमा सरकारी र गैरसरकारी निकाय बाट विकास योजनाका काम हुदै गएका बेला सरकाले आफुहरुलाई अव्यबस्थित बसोवासको लगतमा राखी जग्गा नाप नक्सा गरि स्थायि रुपमा व्यवस्थित बसोवास गराउछ कि भन्ने आशामा उनीहरु बसिरहेका छन ।





